२३ राज्यमन्त्री थपिँदा मासिक १० करोड खर्च बढ्ने
प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार १५ राज्यमन्त्री थपेका छन् । कांग्रेसबाट १२ र लोकतान्त्रिक फोरमबाट ३ राज्यमन्त्री थपिएपछि देउवा मन्त्रिपरिषद् ५० सदस्यीय ‘जम्बो’ बनेको छ । थपिएका सबैले मंगलबारै प्रधानमन्त्री देउवाबाट पद तथा गोपनीयताको शपथ लिई कार्यभार सम्हालेका छन् ।
२०५२ मा ४८ सदस्यीय मन्त्रिपरिषद् बनाएर आलोचित देउवाले तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईको रेकर्डसमेत तोडेका छन् । भट्टराईले देउवाको २०५२ सालको रेकर्ड तोडदै ४९ सदस्यीय मन्त्रिपरिषद् बनाएका थिए । राप्रपा र साना दलका लागि आफंैसँग राखेका तीन मन्त्रालयमा मन्त्री र राज्यमन्त्री थपिँदा देउवा मन्त्रिपरिषद् ५५ सदस्यीयभन्दा ठूलो हुने प्रधानमन्त्री निकट स्रोतले जनायो ।
मन्त्रिपरिषद्मा २६ मन्त्री र २३ राज्यमन्त्री छन् । प्रधानमन्त्री देउवाले सोमबार मात्र माओवादी केन्द्रबाट ८ जनालाई राज्यमन्त्री थपेका थिए । शान्ति, वन र उद्योग मन्त्रालयमा मन्त्री नियुक्त हुन अझै बाँकी छ । मंगलबार कांग्रेसबाट राज्यमन्त्री हुनेमा शिक्षामा शेषनाथ अधिकारी, भौतिक पूर्वाधार तथा यातायातमा सीता गुरुङ, अर्थमा उदयशमशेर राणा, वाणिज्यमा नरबहादुर चन्द, सूचना तथा सञ्चारमा तप्तबहादुर विष्ट, खानेपानी तथा सरसफाइमा अब्दुल रजाक, श्रम तथा रोजगारमा डिल्ली चौधरी, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा चम्पादेवी खडका, कानुन, न्याय तथा संसदीय मामिलामा दिलमान पाख्रिन, कृषिमा सरिता प्रसाईं, सिँचाइमा अमरसिंह पुन र युवा तथा खेलकुदमा तेजुलाल चौधरी छन् ।
लोकतान्त्रिक फोरमबाट जनकराज चौधरी संघीय मामिला तथा स्थानीय विकास, सुमित्रा थरूनी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र यशोदाकुमारी लामाले भूमिसुधार तथा व्यवस्था मन्त्रालयको जिम्मेवारी पाएका छन् ।
राज्यकोषमा हरेक महिना १० करोडभन्दा बढीको व्ययभार दुई दिनको अन्तरालमा २३ राज्यमन्त्री थपेर इतिहासकै ‘जम्बो मन्त्रिपरिषद्’ बनाएपछि राज्यकोषबाट प्रतिमहिना १० करोड रुपैयाँभन्दा बढी प्रशासनिक खर्च बढ्ने भएको छ ।
नयाँ २३ राज्यमन्त्रीका लागि मासिक तलब, घरभाडा, एकमुष्ट फर्निसिङ खर्च, सुरक्षा पोस्ट, गार्ड घर, तीनवटासम्म गाडी, उपसचिवसहित ७ कर्मचारीसहितको स्वकीय सचिवालयका लागि त्यति रकम खर्च हुने सरकारी अधिकारीहरूले जानकारी दिए ।
Labels: नेपाल समाचार, राजनीतिज्ञ


0 Comments:
Post a Comment
Subscribe to Post Comments [Atom]
<< Home